काठमाडौं उपत्यकाको ११ ठाउँमा ‘रेकर्ड ब्रेक’ गर्ने वर्षा


 


काठमाडौं, असोज १४ । काठमाडौं उपत्यकाका ११ ठाउँमा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ गर्ने वर्षा भएकाले ठूलो जनधनको क्षति भएको जल तथा मौसम विभागले जनाएको छ । विभागले हिजो सार्वजनिक गरेको विवरणअनुसार अस्ति शनिवार असोज १२ गते काठमाडौंका विभिन्न जलमापन केन्द्रले अहिलेसम्मकै धेरै पानी परेको रेकर्ड गरेको तथ्याङ्क छ ।

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम शुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, ललितपुरको गोदावरीमा तीन सय ११ दशमलव छ, खुमलटारमा दुई सय ९४ दशमलव चार मिलिमिटर, टिकाथलीमा दुई सय ६४ मिलिमिटर वर्षा हुँदा खोकनामा दुई सय ९७ दशमलव तीन मिलिमिटर र चापागाउँमा तीन सय २३ दशमलव पाँच मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

काठमाण्डौको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाण्डौ विमानस्थलको वर्षामापन केन्द्रले दुई सय ३९ दशमलव सात मिलिमिटर वर्षा भएको जनाएको छ ।

बुढानिलकण्ठमा एक सय ७८ दशमलव तीन मिलिमिटर, जितपुरफेदीमा एक सय ७८ दशमलव तीन मिलिमिटर, नागार्जुनमा दुई सय पाँच दशमलव चार मिलिमिटर वर्षा भएको मापन गरिएको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले एक सय ९४ दशमलव पाँच मिलिमिटर वर्षा भएको मापन गरेको छ । काठमाण्डौ उपत्यकामा मात्रै १७ ठाउँमा वर्षामापन केन्द्र छन् ।

यसैबीच असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ ठाउँमा सबैभन्दा बढी पानी परेको छ । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा चार सय १० मिलिमिटर मापन गरिएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्