टि–ट्वान्टी सिरिज : नेपालले ओमानलाई ३७ रजले पराजित गर्यो


 


काठमाडौं, असोज १४ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

क्यानडाको किङ सिटीमा आइतबार सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रन मात्रै बनाउन सक्यो ।

ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।

ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको बलियो योगफल बनाएको थियो ।

नेपालका लागि गुल्शन झाले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४० रनको योगदान दिए ।

त्यसैगरी कुशल मल्लले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए । आसिफ शेख र अनिल शाहले समान २७–२७ रन बनाए । आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए । अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे ।

त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए । बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए ।

त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल मंगलबार क्यानडासँग खेल्नेछ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्