अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार


 


कमलामाई (सिन्धुली), १३ असोज । बाढीपहिरोका कारण बिपी राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका ३४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुनकोशीको गजुरीदहबाट उनीहरुको उद्धार गरिएको हो । बिपी राजमार्गको नेपालथोक र मङ्गलटार बीचको भागमा अलपत्र परेका यात्रुलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये एक विदेशी नागरिक रहेका छन् ।

उनीहरुलाई गजुरदहबाट उद्धार गरी काठमाडौँ पठाइएको हो । सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेका र काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेका सयौँ सवारीसाधन सडकमै थुनिएका थिए ।

नेपालथोकदेखि खुर्कोटसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि नेपालथोकदेखि धुलीखेलसम्म सडक तत्काल खुलाउन कठिन भएपछि यात्रुको हेलिकप्टरमा उद्धार गर्न गृहमन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्