माओवादी अध्यक्ष दाहालद्वारा दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान


 



काठमाडौँ, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ । आज तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उहाँले सम्मान गर्नुभएको हो ।

तामाङले शनिवार ललितपुर महानगरपालिका(२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी छ वर्षीया मेघनालाई उद्धार गर्नुभएको थियो । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल प¥याएको अवस्थामा तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष दाहालले साहसी काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा तमाङलाई बधाई तथा धन्यवाद दिनुभयो । सङ्कटको बेला नै बहादुरको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताउनुभयो । “यस घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको छु । तपाईको हाल देशविदेशमा चर्चा भइरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो,“ तपाई आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुसी लागेको छ ।”

काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ ।

त्यस अवसरमा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकामा खुसी लागेको बताउनुभयो । आफू बिहान खोला हेर्न आएको बेला मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको उहाँले बताउनुभएको थियो । तामाङले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको सुनाउनुभयो ।

यसैबीच माओवादी केन्द्र एसिया सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख बराबरको सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र नेता टिबी पाठकले रु पाँच लाख बराबरको चेक अध्यक्ष दाहाललाई हस्तान्तरण गर्नुभयो ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्