झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ३५ जनाको शव निकालियो


 


काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका हुन् ।

झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि खोजीकार्य सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए ।

जसमध्ये ८ पुरुष र ६ महिला थिए । लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो ।

त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ।

ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् । त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ ।

जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन्। निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्