झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ९ मृतकको पहिचान खुल्यो


 


काठमाडौं, असोज १३ । धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार ९ जना मृतकको पहिचान खुलेको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगर जिप शुक्रबार पहिरोमा पुरिँदा चालक रमेश लुईटेलसहित १४ जना मृत भएको छ ।

दुर्घटनामा परी स्याङजाको गल्याङ नगरपालिका ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षीय दिपेश र दिपिका भट्टराई तथा उनीहरुकी आमा सिता भट्टराई छन् । उनीहरु मध्ये सिता र दिपेश भट्टराईको सनाखत भइसकेको छ भने दिपीकाको सनाखत हुन सकेको छैन ।

बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको मृत्यु भएको छ । नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न नसकेको र उनीहरुको शव गएराती ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

गाडीमा हराइरहेकाका आफन्तहरु सम्पर्कमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समुहका गरी सात जनाले मात्रै टिकट काटेको रेकर्ड छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्