आफू राष्ट्रपतिको उम्मेदवार नभएको मुनको स्पष्टोक्ति
सोल, माघ १९
संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पार्नु भएको छ ।
आफ्नो मातृदेशमा मङ्गलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उहाँले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पार्नु भएको हो ।
देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताउनुभयो । उहाँले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखेपनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिनुभयो ।
उहाँले अहिलेसम्म कहिल्यै पनि आफू राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिक रुपमा कहीँ बताउनुभएको छैन । उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलन कुनै पूर्वतयारीबिना भएको थियो । उहाँ गत जनवरी १२ मा मात्रै आफ्नो देश दक्षिण कोरिया फर्किनु भएको हो ।
मुनले सम्हालेको संयुक्त राष्ट्रसङ्घको सबैभन्दा माथिल्लो पदको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो । उहाँले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन चाहाने जो सुकैलाई पनि आफूले सहयोग र सल्लाह दिन सक्ने बताउनुभएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: २० माघ २०७३, बिहिबार