लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण केन्द्र


 


लुम्बिनी, ११ असोज । लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना भएको छ ।

चिनियाँ भाषा सिकाइ केन्द्र नेपालमा चौथो र काठमाडौँ बाहिर पहिलो हो । यस केन्द्रमा एचएसके तहका परीक्षाहरु चल्ने छन् । चीनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ ।

सिकाइ केन्द्रको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । त्यसअवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चीनको हनान विश्वविद्यालयबीचमा चिनियाँ भाषा सिकाइ केन्द्र सञ्चालन सम्बन्धमा सहकार्य सम्झौता गरिएको छ । 

मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाइ केन्द्रले योग्दान गर्ने बताउनुभयो । “दुई देशबीचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “चीनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।”

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुर्वणलाल ब्रजाचार्यले विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । एचएसके परीक्षाका लागि काठमाडौँ जानुपर्ने बाध्यता अत्यन्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । 

विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्यले एक वर्ष अगाडि चीनको हनान विश्वविद्यालयसँग भएको सहकार्य सम्झौताअनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिनुभयो । यो उपलब्धिले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन कोशेदङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । 

विश्वविद्यालयमा आजै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चीनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ । चीनको हनान विश्वविद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्बन्ध विस्तार गर्न प्रशिक्षण केन्द्र महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा नेपाल र चीनका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्