कुलेखानीको ड्याम भरिने अवस्थामा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह


 



बागमती, ११ असोज । अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले आज साँझ सूचना जारी गर्नुहुँदै कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गर्नुभयो । मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध गरिएको उहाँले बताउनुभयो ।

अविरल वर्षासँगै पहिरो खस्दाँ हेटौँडा–काठमाडौँ जोड्ने दुवै सडक अवरुद्ध

अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध भएका छन् । मकवानपुरको बकैया गाउँपालिका—१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा बिहीबारदेखि अवरुद्ध कान्तिलोकपथ सडक अझै सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, भिमफेदि–कुलेखानी–काठमाडाँै सडकखण्डअन्तर्गत मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका—२ सिमखोलास्थित खहरे खोलामा पानीको बहाब बढेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका—२ सुकौरास्थित भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । वर्षासँगै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका—३ रामचन्द्र भञ्याङस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा  पहिरो खस्दाँ सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

मकवानपुरको बकैया गाउँपालिका—११ आँपचौर र लाम्राङस्थित कान्तीलोकपथ सडकखण्डमा पहिरो खसेर यहाँ पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको र पहिरो हटाउने कार्य भइरहे पनि वर्षा जारिरहेकाले समस्या भइरहेको जनाइएको छ । 

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्