छठपछि सार्वजनिक यातायातको भाडा बढ्ने


 


काठमाडौँ, असोज ११ । सरकारले छठपछि सार्वजनिक यातायातको भाडादर बढाउने भएको छ ।

सार्वजनिक यातायातको भाडादर वैज्ञानिक प्रणालीअनुसार समायोजन छठपछि भाडादर बढाउन लागिएको हो । यस प्रणालीअनुार १६ महिनादेखि भाडा बढ्न सकेको छैन । पछिल्लो पटक सरकारले २०८० जेठ २ गते सार्वजनिक यातायातको भाडादर समायोजन गरेको थियो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मुख्य आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुनुपर्छ । यसो भएमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा सार्वजनिक सवारीको भाडा घटबढ गर्ने व्यवस्था छ ।

यातायात व्यवसायीले चाडपर्वलाई लक्षित गर्दै भाडा बढाउन माग गरेपछि चाडपर्व सकिएलगत्तै सार्वजनिक सवारीको भाडादर समायोजन गर्नेबारे सहमति जुटेको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढका आधारमा बाहेक वार्षिक रूपमा गर्नुपर्ने भाडादर समायोजन पनि विगत ३ वर्षदेखि हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए ।
सरकार र यातायात व्यवसायीको पहलमा सवारीसाधनको भाडादर छठ पर्वपछि समायोजन गर्ने समझदारी बनेको यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्