गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु


 


इजरायल । इजरायलले एउटा विद्यालय–आश्रयस्थमा बिहीबार गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरू बताएका छन् । यद्यपि इजरायली सेनाले हमास कमान्ड केन्द्रलाई लक्षित गरेको बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट युद्ध सुरु भएपछि घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख जनसङ्ख्याको ठूलो हिस्सा कम्तीमा एक पटक विस्थापित भएको छ र तीमध्ये धेरैले विद्यालय भवनहरूमा आश्रय लिएका छन् ।

“उत्तरी गाजाको जबालिया शिविरमा रहेको अल–फलुजा विद्यालयलाई लक्षित गरी भएको इजरायली मिसाइल आक्रमणमा बालबालिकासहित सात जना सहिद भए भने धेरै घाइते भएका छन्”, नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भन्नुभयो ।

इजरायली सेनाले अल–फलुजा विद्यालयमा रहेको कमान्ड–एन्ड कन्ट्रोल केन्द्रभित्र सक्रिय हमास लडाकूहरूलाई लक्षित गरी ‘सटिक आक्रमण’ गरेको बतायो । सैन्य विज्ञप्तिमा हताहतीका बारेमा कुनै जानकारी दिइएको थिएन । 

बिहीबार भएको आक्रमण गाजामा करिब एक वर्षदेखि जारी युद्धमा विस्थापितहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएका इजरायली आक्रमणहरूको शृङ्खलामा यो पछिल्लो थियो ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले सेप्टेम्बर ११ मा मध्य गाजाको संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित अल–जौनी विद्यालयमा भएको इजरायली आक्रमणमा मारिएका १८ मध्ये आफ्ना छ जना कर्मचारी रहेको बताएपछि अन्तर्राष्ट्रिय आक्रोश बढेको थियो ।  

इजरायली सेनाले हमासमाथि हजारौँ गाजाबासीहरूले आश्रय लिइरहेका विद्यालय भवनहरूमा लुकेको आरोप लगाउँदै आएको छ भने ती आरोपलाई हमासले अस्वीकार गरेको छ । 

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्