बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी


 



धनुषा, १० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

यहाँको मिथिला नगरपालिका–१० लालगढमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले विजलपुरादेखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने रेल सेवाका लागि आवश्यक भौतिक संरचना जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन नसकेको बताउनुभयो । मन्त्री दाहालले भन्नुभयो, “जग्गाको यथार्थ म आफैँ गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।”

उहाँले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्तिले जग्गा खाली गर्न सहमत भएमा क्षतिपूर्ति दिन सकिने बताउनुभयो । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ छ ।

मन्त्री दाहालले कमला पुल तयारगरी हुलाकी सडक सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । “कमला पुल नबन्द भएको समस्या मन्त्रालयलाई थाहा छ । समस्या कसरी समाधान गर्ने विषयमा स्थलगत अनुगमनगरी निकास खोज्न आएका छौँ”, उहाँले भन्नुभयो । 

उहाँले कमला नदीमा रहेको पुरानो पुललाई मर्मत गर्ने या नयाँ पुल बनाउने विषयमा प्रविधिकले अध्ययन गरिरहेको जानकारी दिनुभयो । “पुलमा राज्यको लगानी भइसकेको छ”, मन्त्री दाहालले भन्नुभयो, “प्राविधिक रुपले परीक्षण गरी पुल मर्मत हुने भए मर्मत गर्ने र नहुने भए विकल्पतर्फ अगाडि बढ्ने हो ।” 


मन्त्री दाहालले दसैँ तिहार लक्षित गरेर सडकलाई सहज बनाउने अभियान थालिएको बताउनुभयो । दुई साताभित्र निर्माण भइरहेको सडकमा सहज रुपमा आवतजावत गर्नसक्ने बनाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । मन्त्री दाहाल जनकपुर रेल र कमला पुलको स्थलगत अनुगमन गर्न प्राविधिकसहित धनुषा आउनुभएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्