देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्योः अध्यक्ष दाहाल


 



काठमाडौँ, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गर्नुभएको छ ।

पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेगरी लाग्नुपर्ने बताउनुभयो ।

सरकारको नेतृत्व गर्दा ठूलाठूला भ्रष्टाचार र अनियमितताका विरुद्ध जेहाद नै छेडेको दाबी गर्दै उहाँले बाँसबारी जग्गा प्रकरण, बालुवाटार जग्गा फिर्तालगायत विषयमा लडाईं लडिएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासमै सरकारकोतर्फबाट ठूलो कारबाही गरिएको जानकारी दिँदै उहाँले विचौलिया र दलालविरुद्ध उभिँदा सरकारबाट बाहिर पठाइएको जिकिर गर्नुभयो ।

सरकारबाट बाहिरिँदा विजयी भावमा जनताकासामु जाने अवसर प्राप्त भएको जानकारी दिँदै अध्यक्ष दाहालले नेपाली जनतालाई विश्वासमा लिएर आगामी निर्वाचनमा २०६४ कै जस्तो अवस्थामा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

विद्यार्थी सङ्गठन अखिल९क्रान्तिकारी०लाई बाघ सङ्गठनको सङ्ज्ञा दिँदै उहाँले भन्नुभयो, “हामीलाई अहिले सङ्ख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइलाई रक्षात्मक पोजिसनमा धकेलेका छौँ । हामी जीतका पक्षमा छौँ ।” उहाँले भ्रष्टाचारविरुद्ध अभियान चलाएपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौँ । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहीँ न कहीँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ । हामीले त्यसको घेरा तोड्दै आएका छौँ ।”

प्रतिनिधिसभामा दुई ठूला दल मिलेर जनताको बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले सडकबाट प्रतिक्रियावादी शक्तिलाई झुकाउन सकिने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको पहिलो सरकारले मध्यपहाडी राजमार्ग, उत्तरु दक्षिण करिडोर र मदन भण्डारी राजमार्गजस्ता पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिँदै तीमध्ये केही आयोजना सफलताको नजिक पुगेको बताउनुभयो ।

दोस्रो प्रधानमन्त्रीत्वकालमा इतिहासमै पहिलो पटक विद्युत्भार कटौती अन्त्य गरेको र नेपाली नागरिकलाई उज्यालो प्रदान गरेको तथा तेस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम गरेको तथ्यलाई नेपाली जनताकामाझ लैजान उहाँले विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभयो ।



अखिल (क्रान्तिकारी)का इञ्चार्ज हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाटै नेतृत्व चयन गरिने बताउनुभयो । उहाँले निर्वाचनको प्रक्रियाबाटै नेतृत्व चयन हुनेमा निश्चित रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय एवं विश्वविद्यालयमा सुधारका लागि दाहाल नेतृत्वको सरकारले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयमा भइरहेको दलगत भागबण्डाको अन्त्यगरी मेरिटोक्रेसीका आधारमा पदाधिकारी चयन गर्न आफूहरु अखिल(क्रान्तिकारी) सँगै रहेको बताउनुभयो । विद्यार्थी आन्दोलनमा देखापरेको विश्वासको सङ्कट र चुनौतीलाई सम्बोधन गर्न पनि नयाँ आधारमा अगाडि बढ्नपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्