कलाकारलाई बढी पारिश्रमिक दिएको आरोपको करण जोहरले गरे खण्डन


 


नयाँ दिल्ली । बलिउडमा चलचित्रका मुख्य कलाकारहरूको पारिश्रमिक बढेको विषयबारे केही समयदेखि गर्मागर्मी चलिरहेको छ । यसैबिच, फिल्म निर्माता जोया अख्तरले करण जोहरलाई कलाकारको पारिश्रमिक घटाउन सल्लाह दिएकी छिन् ।

यसबारे करणले टिप्पणी दिँदै फिल्म हिट हुने ग्यारेन्टी नभएसम्म आफूले कुनै पनि कलाकारलाई चर्को पारिश्रमिक नदिने बताएका छन् । हलिउड रिपोर्ट मिडियाको राउन्ड टेबलमा छलफलका क्रममा करण जोहर, जोया अख्तर लगायत धेरै फिल्म निर्माताहरूले कलाकारहरूको बढेको शुल्कको बारेमा छलफल गरेका थिए ।

यस क्रममा जोया अख्तरले करण जोहरलाई स्टारहरूलाई ठुलो रकम दिन बन्द गर्नुपर्ने भनेकी थिइन् । यसमा करण जोहरले भनेका थिए, ‘म अब त्यति शुल्क दिँदिन । अब म कान समात्छु । अब म उनीहरूलाई सोध्छु कि तिम्रो पछिल्ला केहि फिल्महरू कुन थिए । फिल्मले कत्तिको ओपन गर्याे ? कुन हकले मसँग तिमी यति धेरै पारिश्रमिक माग्दैछौं ?’

करणले हालै किल नामक सस्तो बजेटको फिल्म बनाएका थिए । आफूले फिल्म स्टारहरूलाई यो फिल्ममा काम गर्न भन्दा फिल्मको बजेट जत्तिकै पैसा मागेको पनि उनले सुनाए । यो सुनेर उनले ‘फिल्मको बजेट नै ४० करोड छ, तिमी मसँग ४० करोड माग्छौ । फिल्मले १२० करोड कमाउने ग्यारेन्टी के छ ?’ भन्ने जवाफ दिए ।

त्यसपछि अन्ततः उनले नयाँ अनुहार लिएर फिल्म बनाए । करण जोहरमाथि विगत केही वर्षदेखि बलिउडमा नातावाद र कृपावादको आरोप लाग्दै आएको छ । किलमा नयाँ अनुहार लिँदा कसैले पनि तारिफ नगरेको पनि उनले बताए । कंगना रनौतले करणमाथि बारम्बार आफ्ना फिल्ममा स्टारकिड्स मात्रै लिने गरेको आरोप लगाउँदै आएकी छिन् ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्