नेटफ्लिक्सविरुद्ध वासु भगनानीले हाले धोकाधडीको उजुरी


 


नयाँ दिल्ली । बलिउड निर्माता वासु भगनानी लामो समयदेखि आफ्ना कर्मचारीको पारिश्रमिक रोकेको विषयलाई लिएर विवादमा तानिएका छन् । यसैबिच, वासु भगवानीको प्रोडक्सन हाउस पूजा इन्टरटेनमेन्टले ओटीटी प्लेटफर्म नेटफ्लिक्सविरुद्ध ४७ करोड भारु ठगी गरेको आरोप लगाएको छ । नेटफ्लिक्सले यस आरोपको जवाफ दिँदै उल्टो वासु भगवानीबाट पैसा लिनुपर्ने भनिरहेको छ ।

उजुरीमा, पूजा इन्टरटेन्मेन्टले नेटफ्लिक्समाथि आफ्ना तीन फिल्महरू हिरो नम्बर १, मिसन रानीगञ्ज र बडे मियाँ छोटे मियाँ ओटीटी प्लेटफर्ममा स्ट्रिम गरिएको तर नेटफ्लिक्सले स्ट्रिमिङ अधिकारको ४७ करोड ३७ लाख भारु नतिरेको भनेको छ । भगनानीको गुनासोमा नेटफ्लिक्सको भारतीय कन्टेन्ट व्यवस्थापन गर्ने लस गाटोस प्रोडक्शन सर्भिस इन्डियाको नाम पनि उल्लेख गरिएको छ । यसबाहेक उजुरीमा जू डिजिटलसहित १० कार्यकारीको नाम पनि उल्लेख छ ।

भगनानीको आरोपमा नेटफ्लिक्सको आधिकारिक बयान आएको छ । जसमा यी आरोप निराधार रहेको भनिएको छ । बरु उल्टै पूजा इन्टरटेनमेन्टले नेटफ्लिक्सलाई पैसा दिनुपर्ने भनिएको छ । भारतीय क्रियटिभ समुदायसँग साझेदारीको पूरै ट्र्याक रेकर्ड रहेको र यस समस्या समाधान गर्न अधिकारीहरूसँग काम गरिरहेका नेटफ्लिक्सले भनेको छ । भगनानी लामो समयदेखि विवादमा छन् ।

भगनानीको प्रोडक्सन हाउसले बनाएको फिल्म बडे मियाँ छोटे मियाँका निर्देशक अली अब्बास जफरले हालै आफूलाई फिल्म निर्देशन बापतको ७ करोड ३० लाख भारु नदिइएको भनेका थिए ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्