घुस लिएको आरोपमा इन्सपेक्टर शाही निलम्बनमा!
काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ।
बलात्कार सम्बन्धी मुद्दामा मिलापत्र गरेर लाखौँ घुस लिएको आरोपमा इन्सपेक्टर शाहीको जिम्मेवारी खोसिएको हो ।
इन्सपेक्टर शाहीमाथि हनी ट्रयापिङमा संलग्न समूहसँग मिलेर बलात्कारसम्बन्धि उजुरीमा मिलापत्र गरेर पैसा लिएको आरोप छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतकाअनुसार थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको हो ।
यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समितिसमेत बनेको छ ।
स्रोतका अनुसार बलात्कार मुद्दा चलाउने भन्दै एक व्यक्तिलाई ल्याएर थुनामा राखी मिलापत्र गराएकी थिइन् ।
करिब ३० लाख रुपैयाँ लेनदेनमा मिलापत्र भएको र त्यसमध्ये आधा रकम इन्स्पेक्टरलाई दिने सर्त रहेको खुलेको थियो।
यस्तै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहेका बेला पनि इन्स्पेक्टर शाही विवादमा तानिएकी थिइन् ।
उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा मुछिएकी थिइन् ।
प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार