कञ्चनपुरमा प्रहरीको गस्ती टोलीमाथि आक्रमण


 


धनगढी, असोज १० । कञ्चनपुरमा प्रहरीको गस्ती टोलीमाथि बुधबार राति आक्रमण भएको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्स्पेक्टर महेश विक्रम शाही नेतृत्वको प्रहरी टोलीमाथि पुनर्वास नगरपालिका–७, च–गाउँमा आक्रमण भएको हो ।

गस्तीमा निस्केका बेला पुनर्वास–७, बुद्धबस्तीमा खडखडे खेलिरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा आक्रमण भएको ईन्स्पेक्टर शाहीले जानकारी दिए ।

उनका अनुसार खडखडे खेलिरहेकाहरुलाई सम्झाएर नियन्त्रण गर्न खोज्दा २५/३० जनाको समुहले आक्रमण गरेका थिए । आक्रमणबाट चार जना प्रहरीलाई सामान्य चोट लागेको छ भने भ्यानको अगाडिको सीसा र पछाडिको छानोमा क्षति पुगेको छ ।

आक्रमणमा संलग्नहरुलाई पहिचान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्