अलराउन्डर वरियतामा सन्दीपले सुधारे २२ स्थान


 


काठमाडौँ, ९ असोज । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिनुभएको हो । 

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन झा ९०औँ र ललित राजवंशी ९४औँ स्थानमा हुनुहुन्छ ।

दीपेन्द्र र कुशल ६ स्थान तल झर्नुभएको हो । यस्तै करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गर्नुभएको छ । सोमपाल यथा स्थानमा हुनुहुन्छ । वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी हुनुहुन्छ । 

यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९औँ, कुशल भुर्तेले ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा हुनुहुन्छ । रोहितको वरियता यथावत् रहेको छ भनेआसिफ ११ र कुशल चार स्थान तल झर्नुभएको छ । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा हुनुहुन्छ । 

बलिङतर्फ सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ,  करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा हुनुहुन्छ ।  बलिङमा सन्दीपको वरियता यथावत् छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झर्नुभएको छ । करणले चार स्थान सुधार गर्नुभएको छ । 

बलिङ वरियताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज हुनुहुन्छ । एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ । यसअघि १६औँ स्थानमा रहेको नेपाल १७औँ स्थानमा पुगेको हो । शीर्षस्थानमा भारत यथावत् छ । 

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्