श्रीलंकाको नयाँ प्रधानमन्त्री बनिन् हरिनी अमारासूर्या


 


काठमाडौँ ८ असोज । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा नेशनल पिपुल्स पावर (एनपीपी) की सांसद डा. हरिनी अमरासूर्या नियुक्त भएकी छन् ।

उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन वामपन्थी दिशानायकेले जितेका थिए । उनले सोमबार शपथ लिएलगत्तै प्रधानमन्त्री दिनेश गुणवर्धनेले राजीनामा दिएका थिए ।

२२५ सदस्यीय संसदमा एनपीपीका डा. अमरासूर्यासँगै विजिथा हेराथ र लक्ष्मण निपुण अराग्ची मात्र सांसद थिए ।

राष्ट्रपति दिशानायकेले अमरासूर्यालाई प्रधानमन्त्री र हेराथलाई मन्त्री नियुक्त गरेका छन् । साथै उनले आजै मध्यरातबाट संसद भंग गर्ने श्रीलंकाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

रक्षा, अर्थसहितका मन्त्रालय राष्ट्रपति दिशानायकेले आफैंसँग राखेका छन् । प्रधानमन्त्री अमरासूर्यालाई शिक्षा, विज्ञान र प्रविधि लगायतका मन्त्रालय दिइएको छ भने विदेश मामिलासहितका मन्त्रालय हेराथलाई दिइएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्