सुदूरपश्चिममा क्रिकेट खेलाडीलाई तलब दिने तयारी


 


धनगढी, असोज ८ । सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन तलव दिने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले क्रिकेट खेलाडीहरू विभागीय टोलीमा जाने लहर नै चलेपछि सो समस्या समाधान गर्न यस्तो प्रयास थालिएको हो ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले प्रदेशका १० जना उत्कृष्ट महिला तथा पुरुष क्रिकेट खेलाडीलाई मासिक तलब दिने तयारी भएको बताए । पाँच जना खेलाडीलाई नेपाल क्रिकेट संघले दिने बताएको छ । अन्य १० जनालाई प्रादेशिक क्रिकेट संघले यही असोजकै महिनाबाट १५ हजार रुपैयाँ तलब दिने योजना बनाएको छ ।

अध्यक्ष जोशीका अनुसार क्रिकेट खेलाडीलाई तलब दिन निजी क्षेत्रबाट प्रायोजक खोज्ने काम भइरहेको छ ।

धनगढी नेपालमै क्रिकेटको शहरका रूपमा परिचित छ । सुदूरपश्चिम प्रदेशका थुप्रै खेलाडीले अहिले पनि नेपालको प्रतिनिधित्व गरेर क्रिकेट खेलिरहेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशका सबै जिल्लाको संयोजनमा फारवेस्ट क्रिकेट एकेडेमी पनि सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्