देशभर चार दिनसम्म पानी पर्ने सम्भावना


 


काठमाडौं, असोज ८ । मनसुनी प्रभावका कारण मंगलबारदेखि देशभर चार दिनसम्म पानी पर्ने उच्च सम्भावना रहेको छ ।

बंगाल आसपास बनेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सरेर स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मंगलबार दिउँसोदेखि बादल लागेर वर्षा हुनेछ ।

मंगलबार कोशी, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने आकलन महाशाखाले गरेको छ ।

राति कोशी, बागमती, गण्डकी, सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन महाशाखाले गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्