एनपीएलका लागि राखेपमा हेल्प डेक्स स्थापना


 


काठमाडौँ, ७ असोज । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ ।

राष्ट्रिय खेल सङ्घले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । डेक्सको उद्घाटन गर्नुहुँदै सदस्य सचिव घिसिङले विदेशी खेलाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिनुभयो ।

क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहजीकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिनुभयो ।

क्यानले आगामी मङ्सिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दैछ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाईज लिग सञ्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।

डेक्स उद्घाटन कार्यक्रममा क्यानका सचिव पारस खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरी प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्