सुदूरपश्चिम विरूद्ध एपिएफको गोल वर्षा


 


काठमाडौँ, ७ असोज । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई १९–० गोलले हरायो । यो जारी लिगकै सर्वाधिक गोल अन्तरको जित हो । यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई नै १४–१ गोलले हराएको थियो ।

एकपक्षीय खेलमा एपिएफलाई जिताउन रश्मिकुमारी घिसिङ र अनिता केसीले चार चार गोल गर्नुभयो । यस्तै प्रीति राईले तीन, कुसुम खतिवडा र सविता रानामगरले दुई दुई तथा सरूँ लिम्बु र रेनुका हमालले एक एक गोल गर्नुभयो ।

एपिएफले थप दुई गोल सुदूरपश्चिमबाट आत्मघाती उपहार पाएको थियो । जितसँगै आठ खेलबाट २२ अङ्क बनाएको एपिएफ तालिकाको शीर्षस्थानमा छ । आठ वटै खेलमा हार खेपेको सुदूरपश्चिम अङ्कविहीन छ ।

यसै गरी सोमबार नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कोशी प्रदेश १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । चन्द्रपुरका लागि सुनिता सुनारले सुरुवाती गोल गर्नुभयो । कोशीकी ममता राउतले खेलको अन्तिममा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

बराबरीसँगै आठ खेलबाट ११ अङ्क बनाएको कोशी पाँचौँ स्थानमा छ । समान खेलबाट आठ अङ्क बनाएको चन्द्रपुर सातौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्