बाढीमा परेर जापानमा ६ जनाको मृत्यु


 


टोकियो । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्सामा बाढी र पहिरो आएको थियो ।

शनिबारदेखि शुरु भएर सोमबार मध्याह्नसम्म भारी वर्षा हुँदा प्रिफेक्चरको वाजिमा र सुजु शहर प्रभावित भएका छन् । आइतबार दुवै सहरमा महिनाभरि पर्ने पानी एकै दिनमा परेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् ।

दर्जनौँ नदीमा पानीको स्तर बढेका छन् भने सडकमा सवारी आवागमन प्रभावित भएर प्रिफेक्चरभरका सय भन्दा धेरै समुदायहरू एक्लिएको बताइएको छ । मृतकमध्ये दुई जना वाजिमा सहरमा पहिरो प्रभावित सुरुङ नजिक मृत भेटिएका थिए ।

यीमध्ये एक जना सडक मर्मतका समान बोकेर गएका निर्माण कामदार थिए । मर्नेमा दुई जना वृद्ध पुरुष र एक महिला पनि रहेको भन्दै स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जापान टाइम्सले समाचार छापेको छ ।

जापानको मौसम विभागले शनिबार इशिकावाका लागि ‘जीवन नै धराप’ भन्दै उच्च स्तरको चेतावनी जारी गरेको थियो । आइतबार चेतावनीको स्तर घटाएर नियमति खालमा झारिएको थियो । सोमबार मध्याह्न सम्मै पनि मुसलधारे वर्षा हुने सक्ने भन्दै अधिकारीहरूले स्थानीयहरूलाई सतर्क रहन भनेका छन् ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्