एमालेले फागुन २१ गतेबाट मेची–महाकाली अभियान सुरु गर्ने


 


काठमाडौं, माघ १९

नेकपा एमालेले आगामी फागुन २१ गतेबाट मेची–महाकाली अभियान सुरु गर्ने भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार पत्रकार सम्मेलन गर्दै एमालेले फागुन २१ गतेदेखि चैत ५ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिएको हो । फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगी सुर्खेत गएर चैत ५ गते समापन हुने एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

सुखानीका सहिदहरुको स्मृति दिवसको अवसर पारेर सोही दिनबाट अभियान सुरु गर्न लागिएको एमालेले जनाएको छ।  पूर्वपश्चिम राजमार्ग हुँदै अघि बढ्ने अभियानका क्रममा दर्जनौँ सभा हुने र १५ लाख जनतालाई सडकमा उतार्ने एमालेको दाबी छ। शीर्ष नेताहरुको समेत उपस्थितिमा दैनि ३/४ वटा सभा हुने जनाइएको छ। यसक्रममा सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको एमालेले जनाएको छ।

तराई/मधेसमा एमालेप्रति असन्तुष्टि बढ्दै गएका बेला त्यही क्षेत्र हुँदै एमालेले अभियान सञ्चालन गर्न लागेको हो । यसैक्रममा अखण्ड नेपाल पार्टीकी केन्द्रीय उपाध्यक्ष पुष्पा भण्डारीलाई पार्टी प्रवेश पनि गराइएको थियो। उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर स्वागत गरे ।

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्