ट्रम्पले भने- यसपटक पनि हारेँ भने अर्को चुनाव लड्दिनँ


 


काठमाडाैं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले यसपटक पनि पराजित भए अर्कोपटक चुनाव नलड्ने घोषणा गरेका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्- आगामी नोभेम्बरमा हुने चुनावमा पराजित भए २०२८ को चुनाव लड्दिनँ । ट्रम्प यसपटकसमेत रिपब्लिकनबाट तीनपटक अमेरिकी राष्ट्रपतिको उम्मेवार बनेका छन् ।

त्यसमध्ये एउटा चुनावबाट उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए भने अर्को पटक पराजय व्यहोरेका थिए । ट्रम्पले लड्न लागेको तेस्रो चुनाव भने आगामी नोभेम्बरमा हुँदै छ ।

आइतबार एक अन्तर्वार्ताका क्रममा ट्रम्पलाई सोधिएको थियो- यदि यसपटक उनी कमला ह्यारिससँग पराजित भए भने पुनः राष्ट्रपतिको चुनाव लड्नेछन् ? जवाफमा ट्रम्पले भनेका छन्- ‘होइन । मैले यस्तो हुने देखेको छैन । आशा छ यसपटकको चुनावमा हामी सफल हुनेछौँ ।’

अमेरिकामा एक व्यक्ति दुईपटक भन्दा बढी राष्ट्रपति हुन पाउने व्यवस्था छैन । जसका कारण उनले चुनाव जिते भने पनि सन् २०२८ को चुनावमा उनी राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्