धनुषा प्रहरीको हिरासतबाट भागेकामध्ये दुई जना पक्राउ, ७ जना खोज्दै प्रहरी


 


काठमाडाैं । आज बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेका नौ जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान (राति) करिब साढे ३ बजे हिरासत कक्षको भेन्टिलेसन फोडेर भागेका नौ जना थुनुवामध्ये एक जनालाई तत्कालै र थप एक जना थुनुवालाई केही समयअघि पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

थुनुवाहरू भागेलगत्तै प्रहरीले सर्च अपरेसन गरेर जनकपुरको जनक चोकबाट एक जनालाई पक्राउ गरेको थियो । त्यस्तै लागुऔषध मुद्दामा हिरासतमा रही फरार भएका सिरहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्कर कुमार यादवलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

तिवारीका अनुसार सात जना थुनुवा अझै फरार छन् । उनीहरूको खोजी कार्य तीव्र पाइरहेको उनले बताए । फरार भएकामध्ये चार जना लागुऔषध र तीन जना शान्तिसुरक्षा तथा अभद्रव्यवहार मुद्दामा पक्राउ परेका उनले बताए ।

फरार हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका– ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल, २४ वर्षीय रोशन कुमार मण्डल र धनुषाको औरही गाउँपालिका– २ का २३ वर्षीय विशाल मुखिया छन् ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्