दुर्गा प्रसाईंका समर्थकले गरे तीनवटा ट्रकमा आगजनी


 


झापा, असोज ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले झापामा तीनवटा ट्रकमा आगजनी गरेका छन् । उनीहरुले आइतबार राति भारतीय मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।

प्रसाईका समर्थकले सोमबार राति ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका छन् । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् ।

यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेका हुन् ।

ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरि सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्