विश्वकप लिग २ : नेपाल क्यानडासँग फेरि हार्यो


 


काठमाडौँ, असोज ७ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग दोस्रो खेलमा पनि पराजित बनेको छ ।

सोमबार विहान सकिएको खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ५ विकेटको क्षतिमा ४२ ओभरमा पूरा गर्यो । क्यानडाका लागि नवनित धलिवालले ८७ रन र पर्वत सिंहले ६४ रन बनाए । त्यसअघि क्यानडाको ओन्टेरियोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे । पहिलो एकदिवसीय अर्धशतक बनाउन एक रनले चुकेका सन्दीपले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सोमपाल कामीले सन्दीपसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गर्दा नेपालले सम्मानजनक स्कोर खडा गरेको हो । सोमपालले ४८ बलमा २१ रन जोडे। यस्तै करण केसी २४ रन बनाए ।

त्यसअघि नेपालले १२ ओभर भित्रै महत्वपूर्ण ५ विकेट गुमाउदा खराब सुरुवात गरेको थियो । ओपनर आसिफ शेख पाँचौ ओभरमा कलीम सनाबाट बोल्ड भएका थिए । उनले १२ बलमा २ रन मात्र जोड्न सके ।

अर्का ओपनर अर्जुन साउद २७ बल खेल्दा १ चौका प्रहार गरेर १० रनमा आउट भए । उनी आठौं ओभरको पाँचौ बलमा आउट भए । अर्जुन आउट भएको अघिल्लो ओभरमा नेपालले भीम सार्कीलाई ४ रनमा दोस्रो विकेटको रूपमा गुमाएको थियो ।

कप्तान रोहितकुमार पौडेल ११औं ओभरमा ४ रन बनाएर रनआउट भए । लगत्तै अर्को ओभरमा अनिलकुमार साह १ रनमा आउट भए । उनी ४ बल खेलेर आउट हुँदा नेपालले १२ ओभरमा ३६ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

त्यसपछि आरिफ शेख १० रनमा आउट भएका थिए । गुल्सन झाले ५६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा ३४ रन बनाए । बलिङमा क्यानडाका कलीम सनाले ३ विकेट लिए भने डिलोन हेलिगर र हर्ष थाकेरले २–२ विकेट लिए ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल लगातार पाँचौं खेलमा पराजित भइसकेको छ । लिगका सुरूवाती ७ मध्ये ६ खेलमा पराजित भएको नेपाल लिग–२ का आठ टोलीमध्ये सबैभन्दा कमजोर देखिएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्