रवि जोडिएको सहकारी ठगीको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन


 


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सूर्य थापाको नेतृत्वमा बनेको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो ।

गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको उक्त प्रतिवेदन गृहमन्त्री लेखकले कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई उक्त प्रतिववेदन तत्कालन कार्यान्वयन गर्न निर्देशन दिए।

संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेलर र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

गोर्खा मिडियाका तात्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले संसदीय समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष जीबी राई नै जिम्मेवार रहेको बयान दिए पनि उनी आफैंले करिब २४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेको छानबिन समितिको प्रतिवेदनबाट खुलेको थियो।

समितिले लामिछानेको नाममा १७ लाख १६८ रुपैयाँ पेश्की फर्छ्यौट हुन बाँकी रहेको देखाएको छ । लामिछानेले गोरखा मिडिया नेटवर्कसँग आफ्नो कुनै दायित्व नरहेको दाबी गर्दै आएका थिए ।

गोर्खा मिडिया नेटवर्कमा २२,४६,३०,००० सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न सहकारीबाट प्रवाह भएको ६५ करोड रकम खर्च गर्ने काममा लामिछानेको संलग्नता रहेको समितिले निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्