माग सम्बोधन गर्ने सहमतिपछि बागमती प्रदेश सभा बैठक चल्ने


 


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षका माग सम्बोधन गर्ने लिखित सहमति भएको छ ।

आइतबार बिहान बसेको बैठकमा सहमति जुटेपछि आजका लागि बोलाइएको प्रदेश सभा बैठक निर्धारित समयमै सञ्चालन हुने भएको छ ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले बजेट र सरकार सञ्चालनका सवालमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिएको थियो ।

सर्वदलीय बैठकमा सहमति जुटेकाले प्रदेश सभा बैठक निर्धारित समयमै सञ्चालन हुने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

‘सरकार आफ्नो कामलाई प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ । कर्मचारी सरुवा बढुवामा कानुनसम्मत गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता आयो’, प्रमुख सचेतक ढकालले रातोपाटीसँग भने, ‘विगतमा सत्ता र प्रतिपक्षबिच भएको बजेटका विषयमा भएको सम्झौता कार्यान्वयन गर्ने, असन्तुलित बजेट परिमार्जन गर्ने लिखित सहमति भयो ।’

प्रदेश सभा बैठक आइतबार दिउँसो १ बजेलाई बोलाइएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्