सत्तारुढ दलहरुले नै बाह्य शक्तिको भाषा बोलेको भन्दै ओलीद्धारा आपत्ति


 


काठमाडौं, माघ १९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयन र निर्वाचन सुनिश्चित गर्न भन्दै देशव्यापी अभियान सन्चालन गर्ने भएको छ । एमालेले बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी आगामी फागुनदेखि देशव्यापी अभियान सन्चालन गर्ने घोषणा गरेको हो ।

फागुन २१ गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु हुने १५ दिने अभियान तराईका विभिन्न जिल्लामा सन्चालन हुने एमालेले जनाएको छ । अभियानकाक्रममा एमालेका शीर्ष नेताहरुले नयाँ संविधान कार्यान्वयनमा खबरदारी गर्न सर्वसाधारणलाई आह्वान गर्नुका साथै आगामी माघ ७ गतेभित्र तीनओटै तहको निर्वाचन गराउन जनस्तरबाट दबाब सिर्जना गराउने बताइएको छ ।

अभियानको समापन चैत ५ गते सुर्खेतमा आमसभामार्फत् गरिने बताइएको छ । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी संक्रमणकाल अन्त्य गरेर मुलुकमा स्थायित्व कायम गराउन पार्टीले अभियान थाल्न लागेको बताए । उनले तत्काल चुनावको मिति घोषणा गर्न सरकारसँग मागसमेत गरे ।

सत्तारुढ दलहरुले नै बाह्य शक्तिको भाषा बोलेको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाए । अध्यक्ष ओलीले एमालेलाई चिमोटेर देशको आँसु झार्ने कोसिस भइरहेको भन्दै यो प्रयास विफल पार्ने घोषणा गरे ।

 

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्