नेपाल पुलिस बन्यो काभा महिला क्लब च्याम्पियनसिपको च्याम्पियन


 


काठमाडौं, असोज ६ । काभा महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लब नेपाल पुलिस क्लबले जितेको छ ।

माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो ।

पहिलो सेट २५–१६ ले जितेको पुलिसले दोस्रो सेट २५–२२ र तेस्रो सेटमा २५–२३ को जित निकाल्दै च्याम्पियन भएको हो ।

पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–० सेटमा पराजित गरेको थियो । त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो ।

पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो । त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो ।

शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो ।

च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।

सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ साउनमा काभा नेसन्स लिगको‌ रजत पदक विजेता टोली थिए ।

त्यस्तै पुलिसमा साउनमा नै भुटानमा भएको काभा बीच भलिबलमा स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरी पनि छन् ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्