पुलिसको अपराजित यात्रा जारी


 


काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । 

सातौँ जित निकाल्ने क्रममा शनिबार भएको खेलमा पुलिसले वालिङ नगरपालिकालाई २–० गोलले हरायो । दशरथ रङ्गशालामा भएको खेलमा पुलिसलाई जिताउन दुवै गोल सम्झना लावतीले गर्नुभयो ।

उहाँले ६७औँ र इन्जुरी समयमा गोल गर्दै पुलिसलाई जिताउनुभयो । जितसँगै सात खेलबाट १५ अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ । समान खेलबाट वालिङले १२ अङ्क बनाएको छ ।  

शनिबार नै भएको अर्को खेलमा संकठा क्लबले सुदूरुपश्चिम प्रदेशलाई ६–० गोलले हरायो । संकटाको फराकिलो जितमा टिमीलोेपे जेनिफरले चार गोल गर्नुभयो । ममता पुन र पूर्णिमा हमालले एक एक गोल थप्नुभयो ।

जितसँगै सात खेलबाट आठ अङ्क बनाएको संकटा छैटौँ स्थानमा छ । सातै खेलमा हार खेपेको सुदूरपश्चिम अन्तिममा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्