पूर्वअध्यक्ष रेग्मी अमेरिकामा आयोजित संविधान दिवस समारोहमा सरिक


 



अमेरिका ४ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको संविधानले लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार, मौलिक हकजस्ता विश्वव्यापी मूल्य–मान्यतालाई समेटेको बताउनुभएको छ ।

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संयुक्त राज्य अमेरिकाको वाशिङ्गटन डिसीस्थित राजदूतको निवासमा आयोजित समारोहमा उहाँले संविधान कानुनी रूपरेखा मात्र नभई हाम्रा मूल्य र सिद्धान्तको प्रतिबिम्ब भएको बताउनुभयो ।
अध्यक्ष रेग्मीले भन्नुभयो, “इतिहासको यो महत्वपूर्ण क्षणमा लोकतन्त्रका लागि बलिदानी दिने योद्धाकोे त्यागको स्मरण र संविधानको रक्षा गर्न प्रेरणा देओस् ।”

विधिको शासनले लोकतान्त्रिक, समावेशी र समृद्ध समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गर्दै उहाँले लोकतन्त्रप्रति सबै राजनीतिक दलको पूर्ण प्रतिबद्धता जाहेर गर्नुभएको पूर्वअध्यक्ष रेग्मीका प्रेस सल्लाहकार राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो ।

त्यसअवसरमा पूर्वअध्यक्ष रेग्मीले नेपाल–अमेरिकाबीचको सम्बन्धको चर्चा गर्दै अमेरिका हाम्रो प्रमुख विकास साझेदार मात्रै नभई व्यापार र विदेशी लगानीको ठूलो स्रोत भएको बताउनुभयो ।

त्यहाँस्थित कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाल–अमेरिका सम्बन्धका विभिन्न पाटो पक्षकाबारे चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्