स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच दिन जोड दिएका छौं : उपप्रधानमन्त्री पौडेल


 


काठमाडौँ, ४ असोज। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड दिएको बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो। सरकारले स्टार्टअप र नवप्रवर्द्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सिर्जना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको उपप्रधानमन्त्री पौडेलको दाबी थियो । 

आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच बिस्तार गर्न आवश्यक एवं अपरिहार्य भएको उल्लेख गर्दै उहाँले त्यसका लागि पर्याप्त धितो राख्न नसक्ने गरिव तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानीमा वचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरु प्राप्त हुँदै आएको समेत बताउनुभयो । 

उपप्रधानमन्त्री पौडेलले वित्तीय क्षेत्रको विकासका लागि वित्तिय पहुँच अभिवृद्धि,नवीन वित्तीय उपकरणको प्रयोग,वचत तथा कर्जा विस्तार, वित्तिय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नवीन सोच तथा प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तिय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने कुरामा म जोड दिन चाहन्छु । यस मान्यता अनुरुप सरकारले स्टार्ट अप र नवप्रवर्द्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रवन्ध मिलाएको छ। यसै वर्षको बजेटमार्फत एक अर्बको नेपाल स्टार्ट अप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।’ 

उपप्रधानमन्त्री पौडेलले वचतकर्ताको बचतलाई उत्पादन वृद्धिका लागि उपयोग गर्ने कुरामा पनि सरकार योजनावद्ध ढंगले लागि परेको बताउनुभयो।   

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्