उद्योग वाणिज्य महासंघको बिजनेस इन्टेलिजेन्स सिस्टम सञ्चालनमा


 


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरूको डेटाबेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने छ ।

यस प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण जानकारी राखिएको छ । महासंघमा अप्रत्यक्ष, प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आबद्ध छन् । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहने महासंघले जनाएको छ ।

यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ । ‘नलेज प्ल्याटफर्म’ का रूपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिने जनाइएको छ । जुन सर्वसाधारणको पहुँचमा पनि रहने छ ।

प्रणालीको उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।

प्रणाली नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्