किट अभावमा डेङ्गी परीक्षणमा समस्या


 


काठमाडौँ, असोज ४ । बागलुङमा किट अभावमा डेंगी परीक्षणमा समस्या भएको छ । जिल्लाको धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको हो ।

दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माले बताइन् । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको उनले बताइन् ।

अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन् ।

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनले सङ्क्रमण रोक्न खोज र नष्ट गर अभियान चलाइएको जानकारी दिइन् ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्