थप सय मेगावाट बिजुली ल्याउन पहल


 


काठमाडौँ, माघ १९

ऊर्जा मन्त्रालयले सुख्खायममा देशभर लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको प्रस्तावमा कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारण लाइन हुँदै भारतबाट ५०र५० मेगावाट बिजुली ल्याउन कूटनीतिक पहल सुरु गरेको छ ।

ऊर्जा मन्त्रालयले कटैया–कुसाहामा नेपाल–भारत दुवैतर्फ १३३ केभीको प्रसारण लाइन निर्माण भइसकेको र रक्सौल–परवानीपुरमा नेपालतर्फ १५ दिनभित्रै काम सकिने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयलाई भारतबाट थप बिजुली ल्याउने प्रबन्ध गर्नका लागि कूटनीतिक पहल गरिदिन लिखित आग्रह गरेको छ ।

ती दुवै ठाउँमा भारततर्फको प्रसारण लाइन भारतीय विदेश मन्त्रालयले निर्माण गरेको हो । परराष्ट्र मन्त्रालयले पत्राचार गरी कूटनीतिक पहल गरेपछि नेपाल–भारतबीचको विद्युत् व्यापार सम्झौता (पीटीए) अन्तर्गतको दुवै देशका ऊर्जा सचिव र सहसचिव रहेको ज्वाइन्ट स्टेरिङ कमिटी र ज्वाइन्ट वर्किङ कमिटीको बैठक बोलाइने भएको छ ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले ऊर्जाको आग्रहमा भारतीय विदेश मन्त्रालयलाई पीटीएअन्तर्गतको संयुक्त समितिको बैठक बोलाउन कूटनीतिक आग्रह गरिदिइसकेको छ ।

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्