संविधानले सार्वभौम सत्ता जनतामा निहित गरेको छ : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संविधानले सार्वभौम सत्ता जनतामा निहित गरेको बताएका छन् । उनले राज्य शक्ति र स्रोतलाई नेपाली जनताको अधिकार क्षेत्रमा कायम गरेको उनले बताए ।
संविधान दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व प्राप्त भएको बताए । संविधानले तीन तहका सरकारले पुरा गर्ने गरी जिम्मेवारीहरू निदृष्ट गरेको उनको भनाई छ ।
‘संविधानले दिएको अधिकार बहन गर्दै समृद्धि राष्ट्रको निर्माणमा निर्धारित लक्ष्यहरू प्राप्तिको दिशामा अघि बढ्नुपर्ने दायित्व रहेको छ’ उनले भने, ‘संविधान जारी भएपश्चात् स्थापना भई शून्य अवस्थाबाट प्रदेश सरकारले आफैले कानुन निर्माण गरी सेवा प्रवाह गर्दै आइरहेको छन् । प्रदेश सरकार स्थापना भएपछि बजेट र कानुनमा जनताको पहुँच विस्तार भएको छ । विगतमा सामर्थ्य र पहुँचको अभावमा सिंहदरबारको गेटबाटै फर्कने योजना, गुनासो र सुझावहरू हाल प्रदेश सरकारबाट सम्बोधन भएको छ ।’
तथ्यगत विश्लेषण गर्दा प्रदेश सरकार खर्च प्रणालीमा मितव्ययी रहेको पुष्टि हुँदै गएको उनले बताए । बागमती प्रदेको आर्थिक क्षमताको तुलनामा भएका प्रगतिहरू उपलब्धिमूलक रहेको उनले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकारले सङ्घीय सरकारको कुल बजेटको ३.४७ प्रतिशत मात्रै वित्तीय हिस्सा समेटेको छ ।
प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार