कन्सर्टको सुरक्षाका लागि ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन
काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा बिहीबार साँझ कन्सर्टको आयोजना गरिएको छ । नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले ‘समन्वय’ र ‘सहजीकरण’ गरेको छ ।
बिहीबार दिउँसो ४ बजेबाट सुरु हुने कन्सर्टमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली साँझ ६ बजेर ३० मिनेटमा दरबारमार्गमा पुग्नेछन् ।
कन्सर्टको सुरक्षामा नेपाल प्रहरीका २५ सय र सशस्त्रका २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । कन्सर्टको सुरक्षा कमान्ड काठमाडौँका एसएसपी वसन्त रजौरेले गर्ने भएका छन् ।
कन्सर्ट स्थलमा एसपी नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
सशस्त्र प्रहरी बलका २ हजारभन्दा बढी सुरक्षाकर्मीलाई कन्सर्टस्थलमा परिचालन गरिने सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए । न्यौपानेका अनुसार पशुपतिनाथ बाहिनीका बाहिनी पति डीआईजी किशोर प्रधानले सुरक्षा कमान्ड गर्नेछन् ।
प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार