नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्रमन्त्री राणाको आग्रह


 


काठमाडौं, असोज ३ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले क्यानडा सरकारलाई नेपालमा आफ्नो दूतावास स्थापनाका लागि आग्रह गरेकी छिन् ।

उनले क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच हिजो क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ताको क्रममा यस्तो आग्रह गरेकी हुन् ।

उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरिन् ।

भेटवार्तामा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा दुबैजनाले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताए । नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।

अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानाडाले नेपाली उत्पादनहरुलाई क्यानाडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ ।

जलविद्युतका क्षेत्रमा क्यानाडाको विगत लामो समयदेखिको अनुभव र विज्ञता रही आएको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युतका क्षेत्रमा लगानीको धेरै ठूलो सम्भावना रहेकाले लगानी गर्न क्यानाडालाई आग्रह गरिन् ।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सो वार्तामा सहमति भएको थियो ।

त्यसैगरी उनले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् ।

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्