पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा


 


काठमाडौं, असोज ३ । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात् जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्किएको छ ।

गएराति ८ बजे मध्यपुर थिमि नगरपालिका–५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुर थिमि दिगुटोलमा रहेको दिगु भैरव अगाडिको डबलीमा झन्डै १० इन्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको भ्वयः अर्थात् महादीप बोकेर खाली खुट्टाले पशुपतिनाथ मन्दिर यात्रा गर्नुभएको थियो ।

श्रेष्ठले जिब्रो छेडाएर थिमिबाट यात्रा गर्नु भई निगु पुखुः, लाय्कू हुँदैं क्वालाखु (बालकुमारी) मा रहेको थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), इन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानो थिमि, मनोहरा खोला पुल, पुरानो सिनामङ्गल, खहरेचोक, एअरपोर्ट पछाडिको सडक, गुहेश्वरी मन्दिर हुँदै पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको थियो ।

राति साढे १२ बजेको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिमा जात्राको स्वागत गर्दै पशुपति क्षेत्र विकास कोषले तयार पारेको चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाएका श्रेष्ठको जिब्रोमा परम्पराअनुसार पशुपति मन्दिर परिसरमा शुद्ध तोरीको तेल राखिदिनुभएको थियो ।

श्रेष्ठले जिब्रो छेडेर १७ वटा दीप भएको चन्द्राकारको ‘भ्येय’ बोकेर पैदल यात्रा गरी पशुपति पुग्नुभएको थियो । पशुपतिनाथको दर्शनपछि त्यही मार्ग भएर फर्कने र सानो थिमिमा रहेको तीनधारा ब्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भीमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कू हुँदै क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु अर्थात् सियो निकालेर मन्दिरको काठमा ठोक्ने र जिब्रोमा भएको घाउँमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो लगाउने परम्परा छ ।

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्