स्थानीय तहको संख्या ५०० मुनि झार्ने रास्वपाको प्रस्ताव, पहिलाे महाधिवेशन वैशाख २५ गते गर्ने घोषणा
काठमाडौँ २ असोज । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ ।
काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले संविधान संशोधनबारे पार्टीको धारणा पेश गरेका हुन् ।
स्थानीय पालिकाहरुको संख्या घटाएर ५०० मुनि ल्याउने रास्वपाको प्रस्ताव छ । ‘खर्चिलो, बोझिलो प्रदेश संरचना कुनै हालतमा स्वीकार छैन’ आगामी महाधिवेशनसम्म पार्टीको धारणा अझ प्रष्ट पार्ने भन्दै उनले भने ।
स्वतन्त्र, गैरदलीय राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुने रास्वपाको प्रस्ताव छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र योग्य र विषय विज्ञहरुबाट मन्त्री बनाउने उनको प्रस्ताव छ ।
पूर्ण समानुपातिक निर्वाचनको पक्षमा उभिने र राष्ट्रियसभालाई गैरदलीय विद्धान सभा बनाउने सभापति लामिछानेले प्रस्ताव गरेका छन् ।
लामिछानेले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका प्रमुखहरु रहेको विधायिकाबाट कानुन बनाउने प्रस्तावमाथि छलफल सुरु गर्ने प्रस्ताव गरेका छन् । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा मन्त्रालय राख्ने उनको प्रस्ताव छ
यसैबिच रास्वपाले आगामी वैशाख अन्तिमसाता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका छन् ।
प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार