सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ: मन्त्री दाहाल


 


काठमाडौँ, २ असोज। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा विजया दशमी, दीपावली, छठलगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिट्टै निर्णय लिने जानकारी दिनुभएको हो । उहाँले इन्धनको मूल्य घट÷बढ भएअनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि छलफल भइरहेको बताउनुभयो ।

मन्त्री दाहालले सार्वजनिक यातायातको भाडा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो ।

उहाँले सवारी चालक अनुमतिबारे ड्यु रहेका करिब २१ लाख लाइसेन्स सङ्घ सरकारले नै छापेर दिने र बाँकी प्रदेश सरकारले गर्ने बताउनुभयो । उहाँले लाइसेन्सको समस्या समाधानका लागि कोशी प्रदेश सरकारले अस्थायी कार्डको व्यवस्था गरी काम सुरु गरिसकेको भन्दै अन्य प्रदेशमा तत्कालका लागि अस्थायी कार्डको व्यवस्था गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो ।

‘‘सवारी चालक अनुमति पत्रको बारेमा धेरै टाउको दुखाई गरिसकेका छौँ । के–के गर्ने भनेर हामीले रोडम्याप नै बनाइसकेका छौँ । २०७२ सालदेखि प्रदेशले नै यो काम गर्नु पर्दथ्यो । तर यो काम सङ्घले गरिरहेको अवस्थामा यो सङ्घकै जिम्मेवारी भन्ने बुझाइ रह्यो ।,’’ मन्त्री दाहालले भन्नुभयो, ‘‘हामीसँग केही ड्यु छन् । त्यो ड्यु भएको हामीले पूरा गर्ने भनेको छौँ । २०/२१ लाख जति हामीले अहिले छापेर दिनुपर्ने अवस्था छ । त्यो जसरी पनि हामीले छापेर दिन्छौँ । कोशी प्रदेशले अस्थायी कार्ड पनि दिन सुरु गरेको छ । क्युआर कोर्ड हुन्छ । त्यसमा । रसिद क्यु आरकोर्डसहितको दिऔँ भन्ने पनि छ ।’’

भौतिकमन्त्री दाहालले बढीभन्दा बढी यात्रुलाई सुविधायुक्त ढङ्गले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्