श्रद्धा कपूरले तोडिन् शाहरुख खानको रेकर्ड


 


नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राज कुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडका बादशाह शाहरुख खानको रेकर्ड तोडेको छ । पाँचौँ सप्ताहन्तमा गएको शुक्रबार, शनिबार र आइतबार गरेर स्त्री २ ले भारतीय बक्स अफिसमा १६ करोड भारु कमाएको थियो । सोमबार फिल्मले अर्को ३ करोड १७ लाख भारु र मंगलबार २ करोड ६५ लाख भारु कमायो । यो सहित भारतमा फिल्मको कूल कमाई ५८६ करोड भारु पुगेको छ ।

यो सँगै फिल्म बलिउडको बक्स अफिसमा अहिलेसम्मकै धेरै कमाउने फिल्म बनेको छ । यस अघि यो उपाधी शाहरुख खानको जवानको पोल्टामा थियो । सबैभन्दा धेरै कलेक्सन यस अघि जवानको ५८४ करोड भारु थियो । यति पैसा कमाउन जवानलाई ७ हप्ताको समय लागेको थियो । तर स्त्री २ ले ३४ दिनमै यो भन्दा धेरै कमाइदियो । फिल्म बिस्तारै ६०० करोड भारु तिर सर्दै गइरहेको छ । अहिलेसम्म भारतीय बक्स अफिसमा कुनै पनि फिल्मले यो स्तर पार गरेको छैन । यो रेकर्डबाट स्त्री २ अब १४ करोड भारु मात्रै टाढा थियो ।

बलिउडमा अहिलेसम्म एक्सन ड्रामाबाट धेरै कमाइने ठानिएको थियो । अहिलेसम्म घरेलु बक्स अफिसमा पठान, जवान, गदर २ र एनिमलले मात्रै यो स्तर पार गरेका छन् । यी सबै फिल्म एक्सनप्रधान हुन् । तर हरर–कमेडी स्त्री–२ यी सबैलाई उछिनेर ६०० करोड क्लबमा प्रवेश गर्ने दाउमा छ । सन् २०१७ मा तेलुगू फिल्म बाहुबली–२ ५०० करोड कमाएका सबैभन्दा ठुलो हिन्दी फिल्म बनेको थियो । बलिउडलाई यो रेकर्ड तोड्न ६ वर्ष लाग्यो । सन् २०२३ मा शाहरुख खानको पठानले यो रेकर्ड तोड्यो । त्यही वर्ष आएको उनको अर्को फिल्म जवानले हिन्दी फिल्ममा नयाँ रेकर्ड बनायो ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्