सय दिने अभियानका लागि प्रतिनिधिकाे टुंगो लागेन‚ देउवाले बोलाए बैठक


 


काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको असोज १ गतेबाट सञ्चालन गर्ने भनिएको सय दिने अभियानमा प्रतिनिधि पठाउन ढिलाइ भएको छ । पार्टी मुख्य कार्यालय सानेपा स्रोतका अनुसार प्रतिनिधि अभियानका लागि जिल्ला जिल्लामा जाने प्रतिनिधि टुङ्गो लगाउन कांग्रेसले सकेको छैन ।

‘चाडपर्व अगाडी समय अनुसूची भयो कि भन्ने गुनासो पनि छ । यावत् कारणले प्रतिनिधि टुङ्गो लगाउन ढिलाइ भएको छ‚’ सानेपा स्रोतले भन्यो ।

असोज १ गतेबाट अभियान सुरु गर्ने भनिए पनि असोज २ सम्म प्रतिनिधि नै टुङ्गो लाग्न सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि अधिवेशनमा जानेहरूलाई अभिमुखीकरण भन्दै पार्टी पदाधिकारी‚केन्द्रीय सदस्य‚ सांसद तथा पूर्व केन्द्रीय सदस्यहरूलाई सानेपामा बोलाएका छन् ।

‘सभापति ज्यूले अभिमुखीकरण दिएपछि प्रतिनिधि टुङ्गो लगाएर अभियानका लागि जिल्ला जिल्ला पठाउँछौँ‚’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । उनले पनि हालसम्म प्रतिनिधि टुङ्गो लागि नसकेको जानकारी दिए ।

१६ गते सम्म पार्टीको केन्द्रीय समिति बैठकले सय दिने साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । असोज १ गतेबाट सुरु गरेर पुस १० गते सम्म अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी थियो । यसका लागि भदौ ३० भित्र प्रतिनिधि जिल्ला जिल्लामा पठाउने कांग्रेसले बताएको थियो ।

अभियान अन्तर्गत पार्टीको सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन प्रतिनिधिहरूले भूमिका खेल्ने टीओआर पाएका छन् । यस्तै, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिए नदिएको हेर्ने, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक विषयमा जानकारी लिने कार्यक्षेत्र उल्लेख गरिएको छ ।

‘अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन, पार्टी जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका साङ्गठनिक कार्यमा केन्द्रित भई पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म १०० दिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने‚’ केन्द्रीय समिति बैठकको निर्णयमा लेखिएको छ ।

यसपटकको अभियानमा वरिष्ठ तथा प्रभावशाली नेता‚ सांसद तथा केन्द्रीय नेतालाई जिल्ला जिल्ला पठाउने तयारी कांग्रेसको छ ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्