एन्फा महिला लिगमा एपीएफकाे पाँचाै जित, आर्मीले कोशीलाई हरायो


 


काठमाडौँ, १ असोज। विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा आजकाे खेलमा सङ्कटा क्लबलाई हराएकाे छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा एपिएफले सङ्कटालाई ३–० गोलले हरायो । जारी लिगमा एपिएफको यो पाँचौँ जित हो । 

एपिएफको जितमा सरु लिम्बुले १३औँ, अनिता केसीले ५०औँ र सविता रानामगरले ६४औँ मिनेटमा गोल गरिन्। जितसँगै ६ खेलबाट १६ अङ्क बनाएको एपिएफ शीर्षस्थानमा छ । तेस्रो हार खेपेको सङ्कटाको पाँच अङ्क छ ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ५–० गोलले हरायो । आर्मीको जितमा विमला चौधरी र अनिता लम्जेलले दुई दुई तथा हिमा चौधरीले एक गोल गरे ।

जितसँगै ६ खेलबाट १३ अङ्क बनाएको आर्मी दोस्रो स्थानमा छ । आर्मीसँग हार खेपेको कोशी १० अङ्कसहित चौथो स्थानमा छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । 

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्