त्रिविमा नीतिगत सुधार नभएसम्म देशमा सुधार हुँदैन : उपकुलपति डा. बराल


 


काठमाडौँ, १ असोज । नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औँ वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ।  

नारी सशक्तीकरणका लागि गुणस्तरीय शिक्षा भन्ने मूल नाराका साथ सुरु गरिएको पद्मकन्या त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो क्याम्पस हो।  असोज १ गते आयोजित ७४ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले त्रिविमा नीतिगत सुधार नगरी देशको सुधार हुननसक्ने धारणा व्यक्त गर्नुभयो। 

सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट छुट्याउन नसक्दा त्यसको मार विश्वविद्यालयमा परेको उल्लेख गर्दै उपकुलपति डा. बरालले त्यसो हुँदा नयाँ कार्यक्रम अगाडि बढाउन कठिनाइ भएको बताउनुभयो।  

सरकारले शिक्षामा लगानी गर्न नसक्ने हो भने सक्ने विद्यार्थीबाट शुल्क उठाउने र नसक्नेलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। 

उपकुलपति डा. बरालले लामो समय सेवा गरेका प्राध्यापक सेवाबाट अवकाश हुँदै जाने अनि सेवा आयोगबाट नयाँ नियुक्ति नहुँदा कतिपय कलेज रित्तिने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो।  यो अवस्थाबाट अघि बढ्नुपर्नेमा सेवा आयोगमा राजनीतिक भागबण्डा नमिल्दा नियुक्ति प्रक्रियामा ढिलाइ भएको प्रष्ट पार्नुभयो।  

आंशिक शिक्षकको समस्या समाधानका लागि एकमात्र विकल्प भनेको सेवा आयोगले विज्ञापन खुलाउने नै हो भन्दै उहाँले छिट्टै सात सय नयाँ शिक्षकको विज्ञापन गरिने पनि जानकारी गराउनुभयो।  

उपकुलपति डा. बरालले बीपीएसजी, फेसन डिजाइन जस्ता नयाँ कार्यक्रम सुरु गरेकोमा पद्मकन्यालाई धन्यवाद दिनुभयो।  राणा शासन समाप्तिपछि महिला सशक्तीकरणका लागि छुट्टै कलेजको आवश्यकता महसुस गरेर स्थापना गरिएको पद्मकन्या क्याम्पसको फरक पहिचान र महत्त्व भएको बताउनुभयो।  

कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. जयालक्ष्मी प्रधानले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राज्ञिक स्वायत्तताका लागि क्याम्पसलाई २०८१ चैतभित्र क्वालिटी असुरेन्स एण्ड एक्रेडिएसन (क्यूएए)मा लैजाने जानकारी गराउनुभयो।  प्राध्यापक तथा कर्मचारीलाई लघुअनुसन्धानमा संलग्न गराएर जर्नल प्रकाशनको व्यवस्था मिलाइएको बताउनुभयो।  उहाँले पद्मकन्याबाट उत्पादित जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि शैक्षिक गुणस्तरमा विशेष ध्यान दिइएको बताउनुभयो। 

आगामी वर्ष क्याम्पस स्थापनाको ७५औँ वार्षिकोत्सवलाई हिरक महोत्सवका रूपमा मनाउन लागिएको जानकारी गराउँदै क्याम्पसको प्राज्ञिक, शैक्षिक , प्रशासनिक र भौतिक उन्नयनका लागि हिरक महोत्सव सफल बनाउन सबैलाई आग्रह गर्नुभयो। 

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्