सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार


 


काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गर्नु भएको थियो । 

सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । 

यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो । 

भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ । 

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गर्नु भएको आफ्नो योजना तथा प्राथमिकतामा समेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गर्नु भएको थियो । 

आफूले गरेको पहिलो घोषणा पूर्णरुपमा कार्यान्वयनमा आएको जानकारी दिँदै मन्त्री पौडेलले अबको चरणमा मानव अङ्ग प्रत्यारोपण तथा मुटुको उपचारका सेवा समेत विस्तार गर्न सकिने बताउनुभयो । 

मन्त्री पौडेलले भन्नुभयो, ‘क्यान्सरसँगै मानव अङ्ग प्रत्यारोपण र मुटु उपचार सेवासमेत विस्तार गर्ने नीति लिएका छौँ । ’

संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन् । स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने सचिवालयले जनाएको छ । 

यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । 

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्